बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

कालिगण्डकी डाइभर्सन र अवैध उत्खनन् प्रति सरोकारवालाको चासो

नेपाल सेरोफेरो

2025-12-19

नवलपुर — बुलिङटार गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको छ । कार्यक्रममा सरोकारवालाहरुले कालिगण्डकी डाइभर्सन आयोजना र नदीजन्य पदार्थ उत्खनन् प्रति चासो व्यक्त गरेका थिए । उनीहरुको प्रश्नको जवाफ दिंदै गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले कालिगण्डकी डाइभर्सन आयोजना सञ्चालन हुँदा कालिगण्डकी सभ्यता र स्थानीय जनजीवनमा प्रतिकूल असर पर्ने भएकाले यसबारे विभिन्न स्थानीय तहसँग छलफल भइसकेको र आफू स्वयं सर्वोच्च अदालतमा भएको छलफलमा समेत सहभागी भइसकेको बताउनुभयो ।
नदीजन्य पदार्थ उत्खनन्को विषयमा विगतमा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण उत्खनन रोकिएको र हाल सो सम्बन्धमा रहेको रिट खारेज भएकाले अब कानुनी प्रक्रिया पुरा गरेर उत्खनन कार्य अघि बढाइने जानकारी उहाँले दिनुभयो ।
उहाँले चालु आवमा योजनाहरूलाई प्राथमिकिकरण गर्दै सिचाइँ, खानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको जनाउनुभयो । गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य पनि अब सक्रिय रूपमा अघि बढाइने तयारी रहेको जानकारी समेत अध्यक्ष सुनारीले दिनुभएको थियो ।
गाउँपालिकाले शुरुवात गरेका कामहरुमा स्थानीय समुदायको समेत सहभागिता हुनसक्दा मात्रै विकास निर्माणको कामले पूर्णता पाउने भन्दै उहाँले सबै पालिकाबासीहरुले समेत साथ र सहयोगको अपेक्षा राख्नुभयो । आर्थिक तथा सामाजिक रुपमा पछाडी पारिएका समुदायहरुको जनजीवन सुधारका लागि गाउँपालिका सदैव अग्रसर रहेको भन्दै उहाँले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु पालिकाले अगाडी सारेको बताउनुभयो । 
कार्यक्रममा उपाध्यक्ष दिलमाया राना मगरले सहभागी सबैलाई धन्यवाद दिँदै न्यायिक समिति तथा मेलमिलाप सम्बन्धी काम, सेवाप्रवाह र उपलब्धिबारे जानकारी गराउनुभयो । स्थानीय समुदायहरुमा न्यायीक समितिको काम र क्षेत्राधिकारको बारेमा जानकारी नभएका कारण पनि उल्लेखित रुपमा न्यायीक समितिमा उजुरीहरु आउन नसकेको बताउनुभयो । 
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रगतिबारे जानकारी दिइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसालले प्रस्तुतिकरण गर्दै चालु आवमा हालसम्म २२२ वटा योजना तथा कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार चालु आ.व. २०८१-८२ को लागि गाउँ सभाबाट स्विकृत चालु तथा पुँजिगत योजनाहरुमा विनियोजन गरिएको कुल रकमको चालु तर्फ रु. १८ करोड ६५ लाख ८७ हजार ४७ रुपैया (५४.०२ प्रतिशत) र पुँजीगत तर्फ रु. ४ करोड एक लाख ५२ हजार ६ सय ८१ रुपैया ( २६.८ प्रतिशत) बजेट खर्च भइसकेको छ । यस अवधिमा आन्तरिक आयसहित विभाज्य कोषबाट आम्दानी संकलन गरिएको तथा सिचाइँ, खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका क्षेत्रमा प्राथमिकताका साथ योजना कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो ।
भुसालका अनुसार स्वास्थ्य सेवा क्षेत्रमा बुलिङटार गाउँपालिका गण्डकी प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको छ । पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा ९ वटा विद्यालयमा विद्युतीय हाजिरी प्रणाली सञ्चालनमा आएको छ भने राजश्व प्रणाली पनि पूर्ण रूपमा अनलाइन गरिएको छ । डिजिटिल भिलेज निर्माण कार्य सम्पन्न भइसकेको र सबै वडाबाट घुम्ती शिविर सञ्चालन गरिएको जानकारी समेत उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाले पर्याप्त जनशक्ति, स्रोतसाधनको न्यूनता, नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कानुनको दोहोरोपन, विपद् व्यवस्थापनमा कठिनाइ, अत्याधिक जनअपेक्षा र सीमित स्रोत जस्ता समस्या र चुनौतीको सामना गरिरहेको जानकारी गराउँदै संघीय सरकारसँग स्रोतसाधनको स्वायत्तता, ठूला तथा अन्तरपालिका योजनामा प्राथमिकता, विपद् व्यवस्थापनमा सक्रियता र दक्ष जनशक्तिको सहज उपलब्धताको अपेक्षा राखेको बताइएको छ ।


# राष्ट्रिय # राजनिती # अर्थ-रोजगार # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

ट्रेन्डिङ

नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@nepalserofero.com

उपयोगी लिंकहरु

Copyright © 2026, Nepal Serofero. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .