नेपाल सेरोफेरो
2023-09-25
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताउनुभएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशिल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा औल्याउनु भएको हो । मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गर्नुभयो । ‘निजी क्षेत्रसँग सधै हातेमालो गर्न तयार छौ’ उहाँले भन्नुभयो,‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन । निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधै सकारात्मक छ ।’
चितवनमा रहेका निजी क्षेत्रको सहकार्यमा लाईन्सचोकमा बहुउदेश्य व्यापारिक भवन, नारायणी नदीमा पूर्वाधार विकासका कामहरु भइरहेका छन् । मेयर दाहालले निर्वाचनको घोषणापत्रमा ‘मेड ईन भरतपुर’ कार्यक्रमलाई प्रथामिकतामा राखिएकाले यस कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनले सहकार्य गर्न सक्ने उल्लेख गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले गर्ने आर्थिक सम्बन्धी कार्यक्रममा नेपाली युवा उद्यामी मञ्चलाई समावेश गराइने बताउनुभयो । त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने गरी सबै पक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष निर्देश सेढाईले उद्यमशिलताले मात्र देश विकास सम्भव रहेको बताउनु भयो । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सुर्यभक्त अधिकारीले युवा उद्यमीहरुलाई विदेश जानबाट रोक्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै अधिकारले युवा उद्यमीलाई स्वदेशमै रहन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्वअध्यक्ष निरञ्जन न्यौपाने, दाताराम घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो ।
खुसी ( १००% )
दुःखी ( ०% )
अचम्मित ( ०% )
उत्साहित ( ०% )
आक्रोशित ( ०% )
नेपाल सेरोफेरो एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, Nepal Serofero. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .